बुद्ध एयरको विमान दुर्घटना, १९ को मृत्यु


८ असोज, ललितपुर । माउन्टेन फ्लाइटबाट फर्कंदै गरेको बुद्ध एयरको विच एयरक्राफ्ट विमान ललितपुरको विशंखुनारायण गाविसस्थित लामाटार कोटडाँडामा आज बिहान सवा ७ बजे दुर्घटनाग्रस्त भएको छ ।

बुद्ध एयरको ९-एन-एके-१९०० विमान खराब मौशमका कारण दुर्घटना भएको हो । दुर्घटनामा परी विमानमा सवार १९ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसपी भोगबहादुर थापाले जानकारी दिनुभयो । १३ जना भारतीय, २ युरोपेली, १ नेपाली र चालक दलका तीन सदस्य गरी १८ जनाको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा परेर गम्भीर घाइते भएका निराजन कर्माचार्यलाई स्थानीयले जीवितै उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल ल्याइपुर्‍याइएकामा चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए । मृतकमध्ये चालक दलका सदस्यहरु क्याप्टेन जेबी ताम्राकार, को-पाइलट पद्मा अधिकारी र एयर होस्टेस अस्मिता श्रेष्ठको मात्र पहिचान खुलेको छ ।

अन्य मृतकहरुको भने सनाखत हुन नसकेको प्रहरीले बताएको छ । ठूलो आवाजका साथ विमान जमिनमा झरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय कुमार श्रेष्ठले विमान खस्नुअघि आकाशमै आलगागी भएको बताए । घटनालगत्तै स्थानीय र प्रहरीले घटनास्थल पुगेर उद्धार गरेका थिए । एसी थापाका अनुसार विमान टुक्राटुक्रा भएको छ भने मृतकको शव क्षतविक्षत अवस्थामा भेटिएको छ । स्थानीयबासी र प्रहरीले घटनास्थलमा संकलन गरेको मृतकहरुको शव पोष्टमार्टमका लागि नेपाली सेनाको हेलीकोप्टरमार्फत काठमाण्डौ ल्याउने तयारी भइरहेको थापाले बताउनुभयो । यसअघि उद्धारका लागि गएको सैनिक हेलिकोप्टर खराब मौसमका कारण अवतरण गर्न नसकेपछि फर्किएको थियो ।

स्थानीयबासीले हुस्सुका कारण मौसम खराब हुँदा डाँडामा ठोक्किएर विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । सुरक्षित विमान सेवाका रुपमा परिचित बुद्ध एयरको विमान दुर्घटना भएको यो पहिलोपटक हो । घटनबारे बुद्ध एयरले औपचारिक रुपमा केही बताएको छैन । तर, बुद्धले आजका लागि पूर्वनिर्धारित सबै उडान रद्ध गरिएको सूचना जारी गरेको छ ।

Leave a comment