बिषको प्याला उठाएँ


ज्ञानेन्द्र गुरुङ्, साउदी अरब

पिडा भित्रको दर्द निखार्न
बिषको प्याला सुस्तरी उठाएँ
थोरै थोरै गरि धेरै पिएँ
जहर मार्ने बिषको ताकत भेटिएन
म दुनियाँको चर्तिकलाबाट प्रताडित भई
आफुले साँचेको उपकार उनैलाई
उपहार स्वरूप सुम्पी
म विलीन हुन चाहन्थे
त्यसैले त्यो रात…
थोरै थोरै गरि धेरै पिएँ
तर…त्याँहा कुनै नशा नै थिएन

तृष्णा मेटाउने लतमा फसेका ति कुरूप
अन्धकार एकान्तको किच्चड़ माथि सुहाउथे
कुकर्ममा चुर्लुम्म डुबिसकेकाले फेरी
सम्भ्रान्तको सामिप्य सजाउने
सपना बुन्नुमा कुनै सोभा नै थिएन
लुतोले डल्लिएको कुरूप भुसिया
कुहिएको लास माथि छरिएका
सिनु वरिपरी चाटी रहेथे
त्यसलाई दुर्गन्ध गन्हाएको
कुनै पर्वाह नै थिएन

त्यो रात रिसको गोला ठोक्किदै फुटे
त्याँहा मिलनको कुनै बिन्दु नै थिएन
रिस रिसको द्वन्दमा आफै होमिनु
कदापी मनासिक ठानिन
पबित्र ममताका अनुराग कोर्ने हत्केला मेरा
गन्दा नालीमा डुबाई मधुमनको गंगाजलले
पखाल्नु थिएन मलाई
बरु बिस्तारै बिस्तारै आफै सम्हालिएँ
त्याँहा पाप धर्मको कुनै खेस्रा नै भेटिएन

म त सानो संसार सुन्दर अनि सबै समथर देख्थें
मेरो गला भरि गोमन नाग बेरीए पनि
शिवका गहना भनि ग्रहण गरि रहेँ
कुन दिन आफैलाई डस्ने हो अड्कल थिएन
कुन रातमा त्यसले रातो रगत पिएर
हरित्कण पानी बगाई सर्लङ्ग सुकाई दिने हो
मलाई कुनै पर्वाह नै थिएन
पिडा भित्रको दर्द निखार्न
बिषको प्याला सुस्तरी उठाएँ
थोरै थोरै गरि धेरै पिएँ
तर…त्याँहा कुनै नशा नै थिएन !!

Leave a comment